प्रधानमन्त्री ओलीको घोषणा : तराई अब आकाशे वर्षामै भर पर्ने छैन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रमा सिँचाइको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर र प्रतिबद्ध रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिंदै प्रधानमन्त्री ओलीले मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत धान रोपाइँ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै, अबको प्राथमिकता सिँचाइको स्थायी संरचना निर्माणतर्फ केन्द्रित हुने स्पष्ट पारे।

“तराईमा अब आकाशे वर्षाको भरमा मात्र खेती गर्नुपर्ने अवस्था अन्त्य हुन्छ,” प्रधानमन्त्री ओलीले लेखेका छन्, “सरकारले सिँचाइको स्थायी समाधान ल्याउने अठोट लिएको छ र त्यो दिन धेरै टाढा छैन।”

धान उत्पादनका लागि महत्त्वपूर्ण मानिने तराई क्षेत्रमा यस वर्षको खडेरीले खेतीमै गम्भीर असर पार्दा हजारौँ किसान समस्यामा परेका थिए। पानीको अभावका कारण कतिपय स्थानमा रोपाइँ हुन सकेन भने कतै रोपिएको धान पनि सुक्न थालेको अवस्था देखिएको थियो।

प्रधानमन्त्री ओलीले स्मरण गर्दै भने, “किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेका बेला मैले केही समयअघि तराईको अवलोकन यात्रा गरेको थिएँ। त्यसपछि सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय लिएको हो।”

तात्कालिक राहत र दीर्घकालीन समाधानको तयारी

प्रधानमन्त्रीका अनुसार, तत्काल राहतस्वरूप ५०० वटा डिप बोरिङ जडानको काम सुरु गरिएको छ। यस्तै, दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सन सिँचाइ परियोजनालाई तीव्रता दिइएको छ।

“हामीले सोचेजस्तै, पछिल्लो साता वर्षाले साथ दिएको छ,” प्रधानमन्त्री ओलीले लेखेका छन्, “अब खेतबारीमा हरियाली फर्किन थालेको छ, र केही दिनमै सम्पूर्ण खेतहरूमा हरियो सपना लहराउनेछ भन्ने विश्वास छ।”

उहाँले किसानको मेहनत, जमिनको हरियाली र खाद्य सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै सम्पूर्ण कृषक समुदायलाई अभिवादन गरेका छन्।

संघीय सरकारको दीर्घकालीन रणनीति

प्रधानमन्त्री ओलीले नेपालको संघीय सरकार अब तराईमा सिँचाइ पूर्वाधार निर्माणलाई तीव्रता दिने बताउँदै, आकाशे वर्षाको मात्र भर पर्ने कृषि प्रणालीलाई पछाडि पारेर सुनियोजित, दीर्घकालीन र जलस्रोत-आधारित सिँचाइ संरचना निर्माण गरिने बताए।

“समृद्ध तराई बिना समृद्ध नेपाल सम्भव छैन,” प्रधानमन्त्री ओलीको भनाइ छ, “त्यसैले कृषिमा आत्मनिर्भरता, किसानको सम्मान र आधुनिक सिँचाइ प्रणाली नै हाम्रो अबको कार्यदिशा हुनेछ।”

तपाईको प्रतिक्रिया