प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्दै, भूपरिवेष्ठित राष्ट्रहरूको सम्मेलनमा नेपालको प्रतिनिधित्व

फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज राति तुर्कमेनिस्तानको लागि प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघअन्तर्गत भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (LLDCs) सम्मेलनमा सहभागी हुन उनी ‘फ्लाई दुबई’मार्फत राति ११:५५ बजे दुबई हुँदै तुर्कमेनिस्तान जाँदैछन्, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीको यो भ्रमण साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको हो। भ्रमण साउन १८ गतेदेखि २३ गतेसम्मका लागि तय गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरो (UNOHRLLS) का अध्यक्षको हैसियतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै, उनी उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्दै अन्य विविध सत्रहरूमा पनि सहभागिता जनाउने छन्। नेपाल हाल सो समूहको अध्यक्ष राष्ट्रका रूपमा सक्रिय छ।

एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सहभागिता रहने सम्मेलनमा, समुद्रमा प्रत्यक्ष पहुँच नहुँदाको असर, पारवहन जटिलता, सीमित पूर्वाधार र अन्तर्राष्ट्रिय व्यापारमा देखिने चुनौतीहरूबारे गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परिवहन लागत, सीमापार व्यापार प्रणालीको जटिलता, तथा बजारसम्मको दूरीजस्ता समस्याले भूपरिवेष्ठित देशहरूको प्रतिस्पर्धात्मक क्षमतामा असर पुर्‍याइरहेको हुँदा, सम्मेलनले ती चुनौतीको समाधान खोज्ने विषयमा केन्द्रित हुने मन्त्रालयले उल्लेख गरेको छ।

प्रधानमन्त्री ओलीले सम्मेलनको अवसरमा विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरू, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया