प्रत्येक महिना १००–२०० जनाको नागरिकता रद्द गर्ने तयारीमा ट्रम्प प्रशासन, किन बढ्यो चिन्ता?

काठमाडौं । अमेरिकाको ट्रम्प प्रशासनले प्रत्येक महिना १०० देखि २०० जनासम्मको नागरिकता रद्द गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको बताइएको छ। यस कदमले अन्य देशमा जन्मिएर कानुनी प्रक्रियाबाट अमेरिकी नागरिक बनेका लाखौँ व्यक्तिमा अनिश्चितता र चिन्ता बढाएको छ।

अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार यो नीति अवैध आप्रवासन नियन्त्रणसँगै ‘प्राकृतिक नागरिकता’ लिएका व्यक्तिहरूमाथि पनि लागू हुन सक्ने देखिएको छ। विशेषगरी एशियाली मूलका समुदाय यस विषयलाई लिएर बढी चिन्तित देखिएका छन्।

समाचारअनुसार अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) अन्तर्गतका अधिकारीहरूलाई आन्तरिक निर्देशन जारी गर्दै प्रत्येक महिना निश्चित संख्यामा प्राकृतिक नागरिकताको समीक्षा गरी आवश्यक परे रद्द प्रक्रिया अघि बढाउन भनिएको छ।

अमेरिकी संघीय कानुनअनुसार नागरिकता लिँदा झुटो विवरण दिएको, कागजातमा जालसाजी गरेको वा प्रक्रियामा गम्भीर त्रुटि भेटिएको अवस्थामा नागरिकता रद्द गर्न सकिने प्रावधान छ। ट्रम्प प्रशासनले यही कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने संकेत दिएको छ।

अमेरिकामा जन्म नभई कानुनी प्रक्रिया पूरा गरेर नागरिकता प्राप्त गर्ने व्यक्तिलाई प्राकृतिक नागरिक भनिन्छ। यस्ता नागरिकलाई पनि अन्य अमेरिकी नागरिकसरह समान अधिकार प्राप्त हुन्छ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार जनगणना ब्युरोको तथ्यांकले अमेरिकामा करिब २ करोड ६० लाख प्राकृतिक नागरिक रहेको देखाउँछ। गत वर्ष मात्रै आठ लाखभन्दा बढी व्यक्तिले अमेरिकी नागरिकता प्राप्त गरेका थिए, जसमा भारत, मेक्सिको, फिलिपिन्स र भियतनामका नागरिकको संख्या उल्लेख्य छ।

ट्रम्प प्रशासनले नागरिकता प्रक्रियामा गलत जानकारी दिएको वा तथ्य लुकाएको प्रमाण भेटिएमा कारबाही गरिने जनाएको छ। प्रशासनका अनुसार आप्रवासन प्रणालीमा पारदर्शिता र इमानदारी कायम गर्न यस्तो कदम आवश्यक छ।

तर यूएससीआईएसका पूर्वअधिकारीहरूले यस नीतिप्रति चिन्ता व्यक्त गरेका छन्। पूर्वअधिकारी सारा पियर्सका अनुसार नागरिकता रद्दका लागि निश्चित सङ्ख्यात्मक लक्ष्य तोकिँदा प्रक्रिया राजनीतिकरण हुने र यसले लाखौँ प्राकृतिक नागरिकमा अनावश्यक डर तथा अस्थिरता सिर्जना गर्न सक्ने खतरा रहेको छ।

यस विषयले अमेरिकाको आप्रवासन नीतिबारे पुनः बहस चर्काएको छ।

तपाईको प्रतिक्रिया