प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्र्याकमा ल्याउने :पद्मा अर्याल

काठमाडौं। नेकपा (एमाले) की सचिव पद्मा अर्यालले निर्वाचन परिणाम स्वीकार गर्दै आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएकी छन्। बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले जनताको मतको सम्मान गर्ने बताइन्।

अर्यालले भनिन्, “जनताले प्रकट गरेको मतप्रति हाम्रो सम्मान छ। हामीलाई मत किन दिनुभएन भनेर भनेका छैनौं। यो चुनावको नतिजा जनताको अभिमत हो।” उनले सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकरात्मक कामका लागि सहयोग गर्ने पनि बताइन्।

साथै, एमाले स्थायित्वको पक्षमा रहेको उनले उल्लेख गर्दै रोजगारी सिर्जना, उत्पादन वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मानलगायत विषयमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

अर्यालले थपिन्, “अहिले झन्डै दुईतिहाइ नयाँ शक्तिले प्राप्त गरेको छ। हामी प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्र्याकमा ल्याउनेछौं र आवश्यक परे खबरदारी गर्नेछौं।”

तपाईको प्रतिक्रिया