प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

फाइल तस्बिर

काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ विद्रोहको आवश्यकता महसुस गर्दै त्यसको तयारी गरिरहेको बताएका छन्।

दोलखामा ‘बोत्ले हत्याकाण्ड’ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले जनयुद्धदेखि अहिलेसम्म नेतृत्व गरेको अनुभवलाई ध्यानमा राख्दै फेरि नयाँ क्रान्ति आवश्यक रहेको बताए। उनले भने,
“एकचोटि फेरि क्रान्ति आवश्यक छ। नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ। मेरो प्रतिबद्धता यही हो र तयारी पनि गरिरहेको छु। चाँडै हामी मध्यपहाडी यात्रामा निस्कनेछौं, शहीद परिवारका घरमा गई उनीहरूको दुःख-सुख बुझ्ने काम गरिरहेका छौं र हाम्रो वर्गसँग जोडिंदैछौं।”

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा पछिल्लो पटक जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरी बिदा दिने निर्णय गरेको तर अदालतले रोक लगाएको समेत उल्लेख गरे।

पूर्वमन्त्री विशाल खड्काका अनुसार, २०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस–१ बोत्लेमा सुरक्षा फौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको हत्या भएको दिनलाई ‘बोत्ले हत्याकाण्ड’ का रूपमा पार्टीले स्मरण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया