प्रचण्डले विप्लवलाई भने: पार्टी एकता गरौं


काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान हरिसिद्धिमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को निवास पुगे।

करिब ४५ मिनेट लामो भेटवार्तामा दुवै नेताले समसामयिक राजनीतिक विषय र पार्टी एकताबारे छलफल गरे। प्रचण्डले विप्लवलाई पार्टी एकताको विषयमा आफ्नो स्थायी समिति बैठकले गरेको निर्णय व्याख्या गर्दै कम्युनिस्टहरूबीच एकता राष्ट्रिय राजनीतिको आवश्यकता भएको बताए।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भेटवार्ता सकारात्मक ढंगले सम्पन्न भयो।

नेकपा विप्लव नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णय माओवादी केन्द्रले साउनमै गरेको थियो, तर भदौ पहिलो सातासम्म पनि प्रक्रिया अघि बढ्न सकेको छैन। नेकपाले भने माओवादीको एकता प्रयासलाई ‘एकतर्फी’ भनेको छ।

नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का अनुसार पार्टीभित्र यस विषयमा व्यापक बहस नभएकाले नेताहरूले एकताको आधार र उद्देश्य प्रष्ट पार्न आग्रह गरेका थिए।

उनले भने, “हरिसिद्धीमा भएको भेटवार्तामा दुई मुख्य विषयमा कुराकानी भयो — देशको वर्तमान राजनीतिक अवस्थाबारे र पार्टी एकताबारे।”

देशको भूराजनीतिक चुनौतीलाई लिएर पनि विश्लेषण भएको थियो। लिपुलेक र एमसिसी लगायतका विषयले नेपालको भूराजनीतिक अवस्थामा जटिलता थपेको निष्कर्ष भएको उनले बताए।

विप्लवले पार्टी एकताको विषयमा भने, “कम्युनिस्ट आन्दोलन र राजनीतिक आन्दोलनको समीक्षा गर्ने बेला आएको छ। वर्तमान समस्याहरू यथास्थितिबाट समाधान नहुने हुँदा नयाँ राजनीतिक मार्गचित्र आवश्यक छ।”

उनले थपे, “क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण, समाजवादी क्रान्ति र जनअधिकारको स्थापनामा प्रतिबद्ध छौं। यो हाम्रो मिसन हो र यसमा सम्झौता छैन।”

विप्लवले आगामी केन्द्रीय समिति बैठकमा पार्टी एकताको विषयमा निर्णय गरिने संकेत पनि दिएका छन्। भदौको अन्तिम साता सो बैठक बस्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया