प्रचण्डको चेतावनी: जनअसन्तुष्टिको आधारमा निरंकुशता फर्काउने प्रयास हुँदैछ


काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा देशमा असन्तुष्टि बढिरहेको बताएका छन्। उनले जनताको यही असन्तुष्टिलाई आधार बनाएर केही तत्त्वहरू देशलाई फेरि निरंकुशतातर्फ फर्काउने प्रयासमा रहेको चेतावनी दिएका छन्।

मुस्ताङ भ्रमणका क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छी क्षेत्रको निरीक्षणपछि आयोजित अन्तरक्रियामा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्। स्थानीय जनप्रतिनिधि तथा बासिन्दासँगको छलफलमा उनले जनताले सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको अपेक्षा राखेको बताए।

उनले भने, ‘‘राजनीतिक नेतृत्व प्रभावकारी रूपमा अघि बढ्न नसक्दा केही हदसम्म जनताको असन्तुष्टि बढेको छ। त्यसैको फाइदा उठाउँदै केही तत्व निरंकुशता फर्काउन खोजिरहेका छन्। यसको सामना गर्न गणतन्त्र पक्षधर सबै शक्ति एकजुट हुनुपर्छ।’’

प्रचण्डले जनतामा गणतन्त्रको विकल्प अझ सुधारिएको गणतन्त्र हो भन्ने चेतना विकसित भइसकेकाले देश हालको व्यवस्थाबाट पछि फर्कन नसक्ने अवस्थामा रहेको दाबी गरे। साथै, उनले सबै राजनीतिक शक्तिबीच सहकार्य र समन्वयको खाँचो औंल्याउँदै वर्तमान प्रणालीलाई जनअपेक्षाअनुकूल सुधार गर्दै लैजानुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया