पोखरा विमानस्थल घोटाला: अख्तियारले तीन नयाँ विषयमा अनुसन्धान सुरु गर्यो

काठमाडौँ, – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको आठ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ अनियमितताको मामलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। यसमा ५५ जनासम्मको राजनीतिक, प्रशासनिक र प्राधिकरणसँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। तर, अनियमितताको सबै विषयमा मुद्दा हालसम्म अघि बढाइएको छैन।

अख्तियारका अनुसार, निर्माण प्रक्रिया र निर्णयसँग सम्बन्धित तीन छुट्टाछुट्टै विषयमा अझै अनुसन्धान जारी छ। ती विषय हुन्: कर छुट, छिनेडाँडा/रिट्ठेपानी डाँडा कटान, र परामर्शदाता नियुक्ति।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि यी विषयमा अनियमितताको आशंका गर्दै अख्तियारलाई थप अनुसन्धान गर्न निर्देशन दिएको थियो। हालसम्मको प्रचलन अनुसार फरक प्रकृतिका घटनाहरू र फरक निर्णयकर्तासँग सम्बन्धित मामिलाहरूलाई अलग्गै अनुसन्धान गरेर मात्र अदालतमा मुद्दा अघि बढाइन्छ।

विशेष अदालत काठमाडौँले पनि फरक प्रकारका घटनाहरूलाई एउटै आरोपमा समेट्न नहुने फैसला गरिसकेको छ। सोही आधारमा अख्तियारले सम्बन्धित तीन विषयमा अनुसन्धान अधिकारी तोक्दै थप अनुसन्धान सुरु गरेको छ।

अध्ययन प्रतिवेदन र लेखा समितिको रिपोर्ट अनुसार, कर छुटसम्बन्धी विषयमा २०७४ देखि २०७८ सम्म विभिन्न मितिमा अर्थ मन्त्रालय स्तरबाट दुई अर्ब २२ करोड ४० लाख रुपैयाँ कर छुट दिइएको देखिएको छ। यसबारे महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा पनि प्रश्न उठाइएको छ।

त्यस्तै, छिनेडाँडा/रिट्ठेपानी डाँडा कटानको क्रममा प्राधिकरणले मूल सम्झौताविपरीत ३२ करोड दुई लाख रुपैयाँ खर्च गरेको निष्कर्ष आएको छ। साथै, परामर्शदाता नियुक्ति सम्बन्धी विषयमा ठेकेदार कम्पनीले खर्च गर्नु पर्ने रकम प्राधिकरणको बजेटबाट खर्च गरिएको छ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

पोखरा विमानस्थलको निर्माण २०७३ वैशाखबाट सुरु भई २०७९ पुस १७ मा व्यावसायिक उडानका लागि संचालनमा आएको थियो।

तपाईको प्रतिक्रिया