पोखरा बेलुन विस्फोट घटनामा छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौँ । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयमा छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई आफ्नो प्रतिवेदन बुझाएको छ।

भ्रमण वर्षको उद्घाटन समारोहमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

घटनापछि गृहमन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए। समितिले घटनाको विस्तृत छानबिन गरी, भविष्यमा यसप्रकारका घटनाहरू पुनः नदोहोरिनका लागि पूर्वसर्तकता र आवश्यक उपायहरूको सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ।

गृहमन्त्री लेखकले प्रतिवेदन प्राप्त गर्दै, यसमा उल्लिखित विषयहरूको कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्।

समितिले विशेष व्यक्तिहरूको सहभागिता रहने कार्यक्रमहरूमा संवेदनशीलता राख्नुपर्ने, सुरक्षा प्राथमिकता दिनुपर्ने, मञ्चमा प्रज्वलनशील पदार्थको प्रयोग पूर्णतया रोक्नुपर्ने, र प्रविधि प्रयोग गर्दा जोखिम मूल्यांकन नगरी कार्यक्रमको समावेश नगर्नुपर्ने सुझाव दिएका छन्।

यसका साथै, भविष्यमा यस प्रकारका घटनाहरू नदोहोरिनका लागि सुधारका लागि केही विषयहरू पनि प्रतिवेदनमा समेटिएका छन्। जसमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थहरूको अनाधिकृत आपूर्ति र प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने, यस्ता कार्यक्रमको आयोजना गर्नु अघि स्थानीय प्रशासनलाई कार्यक्रमको रूपरेखा उपलब्ध गराउनुपर्ने, र सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पहरूको उपयोग गर्नुपर्ने विषयहरू समावेश छन्।

त्यस्तै, बेलुन उडाउनका लागि अप्रज्वलनशील हिलियम ग्यासको प्रयोग गर्न, आतिसबाजी र विस्फोटक रसायनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउन, र सार्वजनिक कार्यक्रममा सहभागी विशिष्ट व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुनु अघि सुरक्षा सुनिश्चितता बारे जानकारी प्राप्त गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ।

समितिले आयोजक पक्षलाई कार्यक्रम सञ्चालनका लागि योजना बनाउँदा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्नुपर्ने, र सार्वजनिक कार्यक्रमहरूको सुरक्षा, विपद् व्यवस्थापन र सञ्चालन विधि बारे स्पष्ट कार्यविधि मापदण्ड तयार गर्नुपर्ने सुझाव पनि दिएको छ।

तपाईको प्रतिक्रिया