पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्नु अनुचित : सिटौला

काठमाडौं, – नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले पूर्वराष्ट्रपतिहरूले नीतिगत रूपमा सक्रिय राजनीति गर्न नमिल्ने स्पष्ट पारेका छन्।

आइतबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेता सिटौलाले राष्ट्रपति पद राष्ट्रप्रमुखको सम्मानित हैसियत भएकाले पूर्वराष्ट्रपतिले पुनः सक्रिय राजनीतिमा फर्कनु उचित नहुने बताएका हुन्।

“हाम्रो राष्ट्रपति प्रणाली सेरेमोनियल (औपचारिक) हो,” उनले भने, “राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्कन मिल्दैन। राष्ट्रप्रमुख पदमा पुगेपछि त्यो सम्मान कायम रहनु आवश्यक हुन्छ।”

पूर्वराजा ज्ञानेन्द्रप्रति भने सिटौलाले फरक दृष्टिकोण राखे। “हामीले ज्ञानेन्द्रलाई राष्ट्रप्रमुखको मान्यता दिएका थिएनौं। त्यसकारण उनको अवस्था फरक छ,” उनले भने, “तर राष्ट्रपतिलाई हामीले संवैधानिक राष्ट्रप्रमुखको रूपमा सम्मान गरेका छौं।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी थिइन्। तर, एमालेले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया