पूर्वराष्ट्रपति राजनीतिमा फर्किएको विषय गम्भीर हो, कांग्रेसले ध्यान दिनुपर्छ : निधि

काठमाडौं, — नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

आइतबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो विषय कुनै दलको मात्र आन्तरिक राजनीति नभई लोकतान्त्रिक प्रणालीसँग सम्बन्धित रहेको बताए।

निधिले भने, ‘‘अहिले एउटा विषय आएको छ सभापतिजी – रिटायर्ड राष्ट्रपतिले राजनीतिमा फर्किने। एमालेको आन्तरिक प्रतिस्पर्धामा यसले प्रभाव पार्ला वा नपार्ला, त्यो उनीहरूको कुरा हो। तर यो विषय हाम्रो प्रणालीसँग गाँसिएको छ। हामीले जुन लोकतान्त्रिक प्रणाली निर्माण गरेका छौं, त्यो प्रणालीको मर्यादालाई हेर्दा कांग्रेसले यसप्रति ध्यान दिनु जरुरी छ।’’

उनले पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्किएको घटनालाई पार्टीले ‘नोटिसमा’ राख्नुपर्ने स्पष्ट गरे।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै नेकपा (एमाले) को साधारण सदस्यता नवीकरण गराएकी छन्। संविधानअनुसार राष्ट्रपतिलाई कार्यकालपश्चात स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने अपेक्षा गरिन्छ।

तपाईको प्रतिक्रिया