‘पुनःनिर्माण कोष’मा सहयोग गर्न मन्त्री घिसिङको आह्वान

काठमाडौँ, असोज ९ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हालैको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनःनिर्माणका लागि स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा सबै वर्ग र समुदायको साथ र योगदान आवश्यक भएको बताएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री घिसिङले आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरूको पुनःनिर्माण, राहत वितरण, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सो कोष स्थापना गरिएको जानकारी गराए।

उनले सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय संस्था–संघहरूसमेतलाई राष्ट्र पुनःनिर्माणको अभियानमा योगदान दिन आग्रह गरे।

“भदौ २३ र २४ गतेको आन्दोलनमा भएका आगजनी र तोडफोडले जनधनमा ठूलो क्षति भएको छ,” मन्त्री घिसिङले भने, “त्यसको पुनःनिर्माण र आर्थिक पुनरुत्थानका लागि कोष स्थापना गरिएको हो।”

सरकारले पुनःनिर्माण कार्यको प्रभावकारी व्यवस्थापनका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण समिति’ गठन गरेको छ। समितिले अन्तरराष्ट्रिय समुदायलाई सहयोगका लागि ‘Call for Global Support: Urgent Appeal for the Restoration and Reconstruction of Nepal’s Public Assets’ शीर्षकसहित औपचारिक अनुरोध गरेको छ।

मन्त्री घिसिङले कोषमा सङ्कलित सम्पूर्ण रकम पारदर्शी तरिकाले खर्च गरिने स्पष्ट गर्दै कोषमा योगदान गर्न चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १९६०१००१०२०७०००४ र SWIFT कोड: RBIBNPKA प्रयोग गर्न सकिने जानकारी गराए।

तपाईको प्रतिक्रिया