“पार्टी राष्ट्र र समाजप्रति समर्पित थलो हो, व्यक्तिगत स्वार्थको होइन” – परराष्ट्रमन्त्री डा. आरजु राणा

फाइल तस्बिर ।

पोखरा – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टी संगठनभित्र व्यक्तिगत महत्त्वाकांक्षाले असमझदारी बढाउनु नहुने स्पष्ट पार्दै कांग्रेस राष्ट्र र समाजप्रति समर्पित संस्था भएको बताएकी छन्।

नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री राणाले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा हुनु सकारात्मक भए पनि त्यसका नाममा विभाजन र गुटबन्दी गर्नु अनुचित हुने बताइन्।

“पार्टी व्यक्तिगत स्वार्थ पुरा गर्ने माध्यम होइन,” उनले भनिन्, “यो राष्ट्र र समाजका लागि योगदान दिने प्लेटफर्म हो।”

डा. राणाले नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको योगदान स्मरण गर्दै तिनका मार्गनिर्देशनमा पार्टीलाई अगाडि बढाउनु आवश्यक रहेको धारणा राखिन्। “हामी हरेकको बोली, आचरण र व्यवहारमार्फत पार्टीलाई बलियो बनाउन सक्छौं,” उनले भनिन्।

पार्टीको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले स्वस्थ प्रतिस्पर्धा भए पनि कसैलाई उपेक्षा नगरी एकताको भावना कायम गर्नुपर्नेमा जोड दिइन्।

सो अवसरमा डा. राणाले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याइन्। पछिल्लो समय ‘देशमा केही भएको छैन’ भन्ने नकारात्मक प्रवृत्तिको प्रचारप्रति आपत्ति जनाउँदै उनले युवालाई निराश हुन नदिई देशमै केही गर्ने वातावरण बनाउनु सबैको दायित्व भएको बताइन्।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका मूल आदर्श – राष्ट्रियता, प्रजातन्त्र र समाजवाद – लाई कहिल्यै नबिर्सनु पर्ने बताए।

कास्की कांग्रेस सभापति किशोरदत्त बरालले कांग्रेसले देशका जुनसुकै चुनौती पार गर्न सक्ने क्षमताको पार्टी भएको उल्लेख गर्दै गुटबन्दीभन्दा माथि उठेर एकताबद्ध रुपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया