बाढीका कारण पाकिस्तानमा व्यापक जनधन क्षति, बालबालिका बढी प्रभावित

काठमाडौं। पाकिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा १४० बालबालिका समेत गरी २९९ जनाको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले यसबारे जानकारी दिएको हो ।

एनडिएमएका अनुसार जुन २६ मा सुरु भएको बर्षाले देशभर व्यापक विनाश निम्त्याएको छ । मृतकमध्ये १०२ पुरुष, ५७ महिला र १४० बालबालिका रहेका छन् । त्यस्तै, घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन् । पाकिस्तानी मिडिया ‘डन’का अनुसार, मौसमी वर्षाले एक हजार ६७६ घरहरू पनि क्षतिग्रस्त भएका छन् । बाढीका कारण ४२८ गाईबस्तुको मृत्यु हुँदा प्रभावित समुदाय थप समस्यामा परेका छन् ।

एनडिएमएले हालसम्म २२३ उद्धार अभियान सञ्चालन गरी दुई हजार ८८० जनालाई सुरक्षित स्थानमा पुर्‍याएको छ । राहत सामग्री वितरण गरिएको छ भने जीवनरक्षक ज्याकेट, जनस्वास्थ्य किट, पाल र पानी तान्ने पम्पहरू पनि आपूर्ति गरिएको छ । साथै, ७१ शिविर स्थापना गरी चिकित्सकीय सहायता पनि प्रदान गरिएको छ ।

एनडिएमएले धेरै क्षेत्रहरू अझै प्रभावित रहेको जनाएको छ र प्रान्तीय तथा सङ्घीय निकायहरूसँग मिलेर संयुक्त उद्धार कार्य जारी रहेको ‘डन’ले उल्लेख गरेको छ । पाकिस्तान मौसम विज्ञान विभाग (पिएमडी)ले अगस्ट ४ देखि ७ सम्म उत्तरी क्षेत्रमा भारी वर्षा र चट्याङ्को चेतावनी दिएको छ । यस अवधिमा खैबर पख्तुनख्वा, पन्जाब र इस्लामाबाद क्षेत्रमा वर्षा हुने सम्भावना छ भने गिलगिट–बाल्टिस्तानमा अगस्ट ५ देखि वर्षा हुने अनुमान गरिएको छ ।

बलुचिस्तानमा अगस्ट ६ मा उत्तरपूर्वी र दक्षिणी भागहरूमा वर्षा हुने पूर्वानुमान छ । सिन्धको तटीय क्षेत्रहरूमा हल्का वर्षासँगै आर्द्रता बढ्ने अपेक्षा गरिएको छ । पन्जाबको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अली काठियाले अगस्ट ५ देखि मनसुन वर्षाको छैटौँ चरण सुरु हुने चेतावनी दिएका छन् । वर्षाले चेनाब र झेलम नदीमा बाढीको जोखिम बढ्ने बताएका छन् ।

लाहोर, मुरी, अटक, झेलम, गुजरानवाला, फैसलाबाद र डेरा गाजी खानलगायत दर्जनौँ जिल्लाहरू प्रभावित हुने सम्भावना रहेको छ । डनले मुर्री र गल्लियातजस्ता लोकप्रिय पर्यटन क्षेत्रहरूमा कमजोर संरचनाका घरहरूमा क्षति हुनसक्ने समेत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया