पाँच महिनापछि सातामा चार पटक रेसुङ्गा विमानस्थलबाट हवाई उडान सुरू


गुल्मी ।आजदेखि सातामा चार पटक रेसुङ्गा विमानस्थलबाट नियमित हवाई उडान पुनः सञ्चालनमा आएको छ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाका अनुसार पाँच महिनापछि पुनः नियमित उडान तालिका लागू भएको हो।

विगत पाँच महिनादेखि निगमको ट्वीनअटर विमान बिग्रिएका कारण गुल्मीमा सातामा केवल एकपटक—बिहीबार मात्र—उडान हुँदै आएको थियो। अहिले विमान मर्मत सम्पन्न भएपछि निगमले पुनः आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चार दिन नियमित उडान गर्ने निर्णय गरेको हो।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवाको १९ सिट क्षमताको ट्वीनअटर विमानले बिहान ६ः३० बजे काठमाडौंबाट उडान भर्ने र बिहान ७ः३० बजे रेसुङ्गाबाट फर्किने तालिका कायम गरिएको छ।

निगमका अनुसार काठमाडौं–गुल्मी उडानको भाडा रु ७,५०० र गुल्मी–काठमाडौं मार्गको भाडा रु ७,३०० निर्धारण गरिएको छ।

प्राविधिक कारणले दिउँसोको समयमा तीव्र हावाको चाप हुने भएकाले उडान बिहानै गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया