पहिरोका कारण दाउन्ने सडक खण्ड पूर्णरूपमा अवरुद्ध

नवलपुर, – निरन्तरको वर्षापछि माथिबाट पहिरो खस्दा नारायाघाट–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रको सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिक खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए।

उनका अनुसार बिहानको समयमा वर्षाका कारण सडक चिप्लो भएपछि गाडी एकतर्फी रूपमा चलाइए पनि दिउँसोदेखि खसेको पहिरोका कारण दुबै तर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

निरन्तरको वर्षाले पहिरोको जोखिम बढिरहेको दाउन्ने क्षेत्रमा वर्षा भएसँगै सडक चिप्लिने र गाडी गुड्न नसक्ने समस्या दोहोरिँदै आएको छ। बाटो बन्द हुँदा दुबैतर्फ सवारी साधनहरूको लामो जाम समेत लागेको छ।

सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया