परराष्ट्रमन्त्री र जर्मन समकक्षीबीच भेटवार्ता

काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबीच मंगलबार जर्मनीको बर्लिनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटमा नेपाल–जर्मनी सम्बन्ध सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन, तथा जलवायु परिवर्तन लगायतका साझा चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री राणाले जर्मनीलाई नेपालको दीर्घकालीन विकास साझेदारका रूपमा स्मरण गर्दै, विभिन्न क्षेत्रमा प्राप्त सहयोगप्रति आभार प्रकट गरिन्। उनले नेपालमा रासायनिक मल उद्योग स्थापना जस्ता परियोजनामा जर्मन लगानीको सम्भावना रहेको उल्लेख गर्दै, दुवै देशका निजी क्षेत्रबीच सहकार्यको वातावरण निर्माण गर्न जोड दिइन्।

नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तयारीमा रहेकाले त्यसपछिको रुपान्तरणलाई सहज बनाउने उद्देश्यले स्रोत, प्रविधि र आर्थिक सहायताको अपेक्षा गरिएको जानकारी मन्त्री राणाले गराएकी थिइन्।

मन्त्री राणाले नेपालले सन् २०२७–२०२९ का लागि मानव अधिकार परिषद, २०२९–२०३१ का लागि आर्थिक तथा सामाजिक परिषद, र २०३७–२०३८ का लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यताका लागि उम्मेदवारी दिएको भन्दै त्यसमा जर्मनीको समर्थनको अपेक्षा गरिन्। जर्मन विदेशमन्त्री वेडफुलले नेपालको उम्मेदवारीलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

भेटमा मन्त्री राणाले नेपाल र युरोपबीच प्रत्यक्ष हवाई उडान नहुँदा पर्यटन प्रवर्द्धनमा अवरोध आएको बताउँदै, नेपाल–जर्मनी सिधा उडानको आवश्यकता औंल्याइन्। युरोपियन युनियनको हवाई सुरक्षा सूचीमा नेपाली एयरलाइन्सहरू परेपछि उडानमा रोक लगाइएको विषयमा सरकार सुधारतर्फ अग्रसर भएको उल्लेख गर्दै, संसद्मा प्रस्तुत दुई विधेयकहरू युरोपेली संघ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) का सिफारिसअनुसार तयार पारिएको जानकारी दिइन्।

यस सन्दर्भमा मन्त्री राणाले जर्मनीसँग नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन भूमिका खेल्न आग्रह गरिन्। जर्मन विदेशमन्त्रीले आवश्यक सहयोगको आश्वासन दिएका थिए।

त्यस्तै, मन्त्री राणाले जलवायु परिवर्तनका कारण नेपालमा देखिएका गम्भीर असरबारे जानकारी दिँदै जलवायु न्यायका पक्षमा नेपालले उठाएका आवाजमा जर्मनीको साथ अपेक्षा गरिएको बताएकी छन्।

तपाईको प्रतिक्रिया