न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित गरियोस् : राष्ट्रपति पौडेल

काठमाडौँ, वैशाख २५ – राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा सर्वसाधारणको सहज पहुँच स्थापित हुनुपर्नेमा जोड दिएका छन्। कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका मूल्य र मान्यताहरूको संरक्षण, प्रवर्द्धन तथा न्याययुक्त समाज निर्माणमा न्याय तथा कानुन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

राष्ट्रपतिले राज्यको तीनवटै अंग—कार्यपालिका, विधायिका र न्यायपालिका—बीचको सन्तुलन, शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा व्यवहारमा ल्याउने प्रक्रिया ऐतिहासिक रूपमा ‘प्रधान न्यायालय ऐन, २००८’ लागू भएपछि सुरु भएको स्मरण गरे।

उनले संविधानको मर्म र समयानुकूल आवश्यकताअनुसार नयाँ कानुन निर्माण र पुराना कानुनको सुधार आवश्यक रहेको बताए। आधुनिक प्रविधिको प्रयोगमार्फत मुद्दाको शीघ्र व्यवस्थापन, छिटो न्याय सम्पादन, विधिको शासन र न्यायिक मूल्यको संरक्षणमार्फत न्यायपालिकामाथिको जनआस्था मजबुत बनाउने दिशामा कानुन दिवसले सकारात्मक सोच र प्रेरणा दिनुपर्ने उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया