नेप्से ४४.२५ अंकले बढ्यो, कारोबार रकम भने घट्यो


काठमाडौं — धितोपत्र बजारको प्रमुख सूचक नेप्से सोमबार ४४.२५ अंकले बढेर २,५४७.६० विन्दुमा पुग्दै सकारात्मक बन्द भएको छ। नेप्से १.७६ प्रतिशतले वृद्धि भएको हो। यसअघि आइतबार नेप्से ३.०५ प्रतिशतले ओरालो लागेको थियो।

आजको कारोबारमा समग्र सेयर कारोबार रकम भने घटेको छ। आज ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन आइतबारको ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको तुलनामा साढे १ अर्ब रुपैयाँभन्दा बढीले कम हो।

दिनभरको कारोबारमा २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मूल्य घटेको र ८ कम्पनीको मूल्य स्थिर देखिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र किस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ।

सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको सेयरमा भएको छ। यस कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको २६ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ।

आज बजारमा कारोबार भएका सबै १३ समूहको परिसूचकमा वृद्धि देखिएको छ। तीमध्ये ‘अन्य’ समूहको परिसूचक सबैभन्दा बढी ५.०१ प्रतिशतले उक्लिएको छ।

तपाईको प्रतिक्रिया