नेप्से परिसूचक २७ सय विन्दुमा झर्यो, कारोबार रकम १३ अर्बमा सीमित

काठमाडौँ — बुधबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भयो। दिनभरको उतारचढावबीच नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा पुगेको थियो।

बजारमा उच्च अंकले गिरावट आएपछि कारोबार रकम पनि कमीमा सीमित रह्यो। बुधबार १३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भयो, जबकि मंगलबार २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

यस दिन ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ रुपैयाँमा खरिद–बिक्री भयो।

बजारमा दोहोरो अंकले गिरावट आए पनि केही सेयर सकारात्मक सर्किटमा रहे। सालपा विकास बैंकको सेयर सकारात्मक सर्किटमा कारोबार भयो। नेसनल हाइड्रोपावरको सेयर ९.९६ प्रतिशतले, रिलायन्स स्पिनिङ मिल्सको ९.३३ प्रतिशतले बढ्यो।

कालिका पावरको सेयरमा भने सबैभन्दा धेरै घाटा भयो र यसले ८.४७ प्रतिशतको गिरावट दर्ता गर्यो।

कारोबारको मूल्य अनुसार रिडी पावर ८५ करोड रुपैयाँ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो। आँखु खोला जलविद्युतले ५१ करोड, नेसनल हाइड्रोपावरले ४९ करोड, आपी पावरले ४४ करोड, र नगदी ग्रुपले ४१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

यस दिन ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घट्यो र ३ कम्पनीको मूल्य स्थिर रह्यो। म्युचुअल फन्डबाहेक बाँकी १२ समूहका उपसूचक नकारात्मक देखिए।

तपाईको प्रतिक्रिया