नेपालले आज बलियो टिम म्यानमारसँग खेल्दै

काठमाडौं : चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आज बलियो टिम म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग चरणको अन्तिम खेल खेल्ने छ।

यस खेलले लिगको विजेता र उपविजेताको निर्धारण गर्नेछ। यसअघि नै नेपाल र म्यानमारले २-२ जितसँगै फाइनल स्थान सुरक्षित गरेका छन्।

नेपालले प्रतियोगितामा २ खेलमा २ गोल गरेका छन् र हालसम्म कुनै गोल खाएको छैन, जबकि म्यानमारले २ खेलमा ८ गोल गर्दै १ गोल खाएको छ।

नेपालले दुवै खेल साँघुरो अन्तरले जितेको छ, तर फिनिसिङमा केही कमजोरी देखिएको छ। आजको खेलमा नेपालका फर्वाड र डिफेन्सलाई थप चुनौतीको सामना गर्नुपर्नेछ।

नेपालका दुई फर्वाड, सावित्रा भण्डारी र रेखा पौडेलले विदेशी लिग खेलिसकेपछि राष्ट्रिय टिमसँग तालमेल मिलाउन नसकेको विषय पनि उठेको थियो।

नेपालको लागि किर्गिस्तानविरुद्ध विमला चौधरीले गोल गरेकी थिइन्, जबकि लेवनानलाई नेपालले सावित्राको गोलमा हराएको थियो।

म्यानमारको टिम FIFA वरियतामा नेपालभन्दा माथि रहेको छ, नेपाल १०३ औं स्थानमा छ भने म्यानमार ५५ औं स्थानमा छ। मैदानमा पनि म्यानमार बलियो टोली देखिन्छ, र यस टिमविरुद्ध नेपालले पहिलेका खेलहरूमा गरेको डिफेन्स र फिनिसिङका गल्ती सुधार्नु पर्नेछ।

आजको खेलको नतिजाले फाइनलमा खास प्रभाव नपार्ने भए तापनि, नेपाली प्रशिक्षकले केही नयाँ खेलाडीलाई मौका दिने सम्भावना छ। यस खेलमा मनमाया दमै, सुस्मा तामाङ, चन्द्रा भण्डारीलाई मैदानमा उतार्ने सम्भावना रहेको छ। मिडफिल्डमा पनि सरु लिम्बुलाई रेनुकाको स्थानमा प्रतिस्थापन गर्न सकिन्छ।

यो खेलले नेपाललाई म्यानमारको टिम र रणनीति बुझ्नको लागि राम्रो अवसर प्रदान गर्नेछ। आजको पहिलो खेल लेवनान र किर्गिस्तानबीच दिउँसो २ बजे दशरथ रंगशालामा हुनेछ।

तपाईको प्रतिक्रिया