नेपालमा ११ महिनामा १५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो


काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार जेठ मसान्तसम्म देशमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा १७.२ प्रतिशत वृद्धि देखिएको थियो।

२०८२ जेठ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा (१ खर्ब २८ अर्ब ९१ करोड) उल्लेखनीय वृद्धि हो।

अमेरिकी डलरमा हेर्दा, रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १५.२ प्रतिशत थियो।

त्यस्तै, देशमा आएको कुल ‘खुद द्वितीय आय’ (net transfer) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै २ खर्ब २५ अर्ब रुपैयाँले बढी हो।

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत गरी) लिने नेपालीको सङ्ख्या ११ महिनामा ४ लाख ५२ हजार ३२४ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने ३ लाख ८ हजार ६७ रहेको छ।

गत वर्ष सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख २१ हजार ३५६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६१ हजार २१० थियो।

तपाईको प्रतिक्रिया