नेपालको ऐतिहासिक जित: वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता

काठमाडौं । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ। वेस्ट इन्डिजसँगको टी–२० शृंखलाको पहिलो खेलमा नेपालले १९ रनको शानदार जित निकाल्दै टेस्ट राष्ट्रविरुद्ध पहिलोपटक जित दर्ता गरेको छ।

शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै नयाँ इतिहास रचेको हो।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै सीमित भयो।

वेस्ट इन्डिजका तर्फबाट नविन बिदाइसीले सर्वाधिक २२ रन बनाए। अन्य ब्याट्सम्यानले क्रमशः अमिर जांगो १९, कप्तान अकिल हुसैन १८, केसी कार्थी १६ र अकिम अगस्टेले १५ रन जोडे।

नेपालका कुशल भुर्तेलले २ विकेट लिए भने करण केसी, नन्दन यादव, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक–एक विकेट झारे।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहितकुमार पौडेलको ३८ रन र कुशल मल्लको ३० रनको मद्दतमा सम्मानजनक स्कोर बनाएको थियो।

पारीको शुरुवात खराब रहे पनि रोहित र कुशलको ५८ रनको साझेदारीले नेपालको पारी सम्हालेको थियो। गुल्सन झाले १६ बलमा २ छक्का प्रहार गर्दै २२ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १७ रन, सन्दीप जोराले ९ रन बनाए।

नेपालका लागि ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा नेपालले २.१ ओभरमै पहिलो झटका व्यहोरेको थियो। अर्का ओपनर आसिफ शेख पनि ३ रनमै पवेलियन फर्किए।

वेस्ट इन्डिजका अनुभवी बलर जासन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। नविन बिदाइसीले ३ विकेट लिए भने कप्तान अकिल हुसैनले १ विकेट लिए।

नेपाल र वेस्ट इन्डिजबीच तीन खेलको टी–२० शृंखला तय भएको छ। दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार खेलिने तालिका छ।

तपाईको प्रतिक्रिया