नेपाल–जापान शैक्षिक सहकार्य विस्तारबारे शिक्षामन्त्री पोखरेल, रास्वपा प्रवक्ता खरेल र टोकियो विश्वविद्यालयको प्रतिनिधिमण्डलबीच भेटवार्ता


काठमाडौं। नेपाल र जापानबीच शैक्षिक सहकार्य विस्तार तथा उच्च शिक्षाका क्षेत्रमा आपसी साझेदारी अभिवृद्धि गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री माननीय सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता माननीय जगदीश खरेल र जापानको टोकियो विश्वविद्यालयका प्रतिनिधिमण्डलबीच भेटवार्ता सम्पन्न भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने विषयमा छलफल भएको थियो।

भेटवार्तामा टोकियो विश्वविद्यालयकी कार्यकारी उपाध्यक्ष प्राध्यापक काओरी हायासी, प्राध्यापक मित्सुओ यामामोतो, ग्लोबल एजुकेसन सेन्टरका सहायक प्राध्यापक दिपेश खरेल, प्राध्यापक सात्सुकी शियोयामा तथा युही ओटासहितको प्रतिनिधिमण्डल सहभागी थियो।

छलफलका क्रममा नेपाल र जापानबीच शिक्षा आदानप्रदान कार्यक्रम (Education Exchange Program) सञ्चालन गर्ने सम्भावना, अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार, ज्ञान तथा शैक्षिक अनुभव आदानप्रदान र दुवै देशका शैक्षिक संस्थाबीच प्राज्ञिक साझेदारी विकास गर्ने विषयमा केन्द्रित रहेर विचारविमर्श भएको थियो।

विशेषगरी, शैक्षिक अवसरहरूको विस्तार तथा अनुसन्धान र ज्ञान हस्तान्तरणका माध्यमबाट नेपाल र जापानबीचको शैक्षिक सहकार्यलाई थप प्रभावकारी बनाउने सम्भावनाबारे छलफल गरिएको थियो।

यस भेटवार्ताले नेपाल र जापानबीचको शैक्षिक तथा प्राज्ञिक सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी दिनमा शिक्षा, अनुसन्धान र ज्ञान आदानप्रदानका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया