नेताहरूका घरमा आगजनी हुँदा देखिएको नगदबारे छानबिन सुरू भइसकेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, असोज ९ — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा नेताहरूका निजी निवासमा भएको आगजनी तथा तोडफोडका घटनामा देखिएको नगद रकमबारे छानबिन प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएकी छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सम्बद्ध निकायले घटनाको सम्बन्धमा छानबिन सुरु गरिसकेको स्पष्ट पारिन्।

“प्रदर्शनका क्रममा व्यक्तिका निजी घरमा भएको आगजनी र तोडफोडमा स्वभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायहरूले छानबिनको प्रक्रिया अघि बढाइसकेका छन्,” प्रधानमन्त्री कार्कीले भनिन्।

गत भदौ २४ गते पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगजनी हुँदा ठूलो परिमाणमा नगद देखिएको भिडिओ सार्वजनिक भएको थियो। उक्त घटनापछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेको हो।

विभागले नेताहरूको घरमा भेटिएको जलेका नोटका मुचुल्का उठाएको छ। साथै, पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा पैसा फ्याँकेको देखिने भिडियो बाहिरिएपछि विभागको टोली त्यहाँ पनि पुगेर आवश्यक प्रक्रिया अघि बढाएको छ।

सरकारले सबै घटनामा निष्पक्ष छानबिन गर्ने र आवश्यक कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया