नेकपा एसले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं — नेकपा एसले जनसरोकारका मुद्दामा चैत २ देखि ६ गतेसम्म मातहतका कमिटीहरूमा छलफल गर्ने घोषणा गरेको छ। पार्टीका महासचिव घनश्याम भूसालका अनुसार, यो आन्दोलन सत्ताको खेल वा आगामी निर्वाचनको जोड-घटाउबाट मुक्त गर्न सुरु गरिएको हो।

महासचिव भूसालले चैत ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–संगठन र व्यक्तिहरूसँग संवाद र सुझाव संकलन गर्ने जानकारी दिए। साथै, चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र महिनाको अन्त्यसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद र सुझाव संकलन गर्ने, र वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने कार्यक्रम तय भएको बताएका छन्।

नेकपा एसले वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद र सुझाव संकलन गर्ने र वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयमा ज्ञापनपत्र पेस गर्ने योजना बनाएको छ। त्यसपछि वैशाख २५ गते दोस्रो चरणको कार्यक्रमको रूपमा सार्वजनिक आन्दोलनको घोषणा गरिने छ।

यस अभियानको उद्देश्य बेरोजगारी र कुशासनविरुद्ध क्रान्तिकारी कदम चाल्नु र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु रहेको महासचिव भूसालले बताए। साथै, नेकपा एसले वर्तमान सत्ता गठबन्धनलाई देशको आर्थिक समस्याको समाधान गर्न असक्षम ठहर गर्दै, यसका बारेमा जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औंल्याएको छ।

तपाईको प्रतिक्रिया