निर्वाचनका लागि आवश्यक वातावरण सरकारले तयार गरिसकेको छ : सञ्चारमन्त्री खरेल

भक्तपुर, — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकार आवश्यक वातावरण निर्माण गर्न सफल भएको जानकारी दिनुएको छ। मतदाता र उम्मेदवार दुवैले निर्भीक रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन सक्ने अवस्था सुनिश्चित गरिएको बताउनुभएको छ ।

भक्तपुरको गुन्डुमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खरेलले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने गरी तयारी अघि बढाएको जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ।

मन्त्री खरेलले निर्वाचनकै सन्दर्भमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्नुभयो। उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा अन्य राजनीतिक नेतृत्वसँग निर्वाचनको तयारी र सहजीकरणका विषयमा छलफल भएको जानकारी दिनुभयो।

भेटका क्रममा अध्यक्ष ओलीले निर्वाचनका लागि सुरक्षा र अन्य आवश्यक पक्षहरू सहज बनाउनुपर्नेमा जोड दिनुभएको मन्त्री खरेलले बताउनुभयो। सरकार उम्मेदवारले जनताको घरदैलोमा सहज रूपमा पुग्न सक्ने र मतदाताले पनि ढुक्कसँग मतदान गर्न पाउने वातावरण बनाउन प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।

सरकारले निर्वाचनको वातावरण तयार गरिसकेको उल्लेख गर्दै मन्त्री खरेलले सबै राजनीतिक दललाई सकारात्मक र जिम्मेवार ढंगले निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो। साथै, निर्वाचनसँग सम्बन्धित देखिएका चुनौती र चासोहरूलाई सरकारले संवाद र सहकार्यबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।

मन्त्री खरेलले सरकारको मुख्य लक्ष्य सफल निर्वाचन सम्पन्न गर्नु भएकाले आवश्यक सबै तयारीलाई प्राथमिकताका साथ अघि बढाइएको पनि जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया