निर्वाचन सुरक्षामा खटिन युवाको रुचि बढ्दो

काठमाडौं :आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

शुक्रबार बिहान कार्यालय समय सुरु भएसँगै काठमाडौं प्रहरी परिसरबाहिर निर्वाचन प्रहरीका लागि आवेदन फारम भर्न आएका युवाहरूको चहलपहल देखिएको थियो। निर्वाचन सुरक्षामा सहभागी हुन युवाहरूको रुचि बढेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने उल्लेख गर्दै सूचना प्रकाशन गरेपछि आवेदन दिनेहरूको संख्या बढेको हो। सूचना सार्वजनिक भएसँगै देशभरका विभिन्न स्थानबाट आवेदन संकलन सुरु गरिएको छ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयमार्फत निर्वाचन प्रहरीका लागि आवेदन फारम बुझाउन सकिने व्यवस्था गरिएको छ।

साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले निर्वाचन प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन्। निर्वाचन अवधिभर खटिने निर्वाचन प्रहरीलाई नेपाल प्रहरी जवानको प्रारम्भिक तलब स्केलअनुसार प्रतिदिन पारिश्रमिक प्रदान गरिने जानकारी दिइएको छ।

निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुकहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया