निजामती विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको आपत्ति

काठमाडौं, संघीय निजामती सेवा विधेयक संसद्को कार्यसूचीबाट हटाइएकोप्रति **नेकपा (माओवादी केन्द्र)**ले आपत्ति जनाएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले केही दिनअघि कार्यसूचीमा समावेश गरिएको संघीय निजामती विधेयक अहिले कार्यसूचीबाट हटाइएकोप्रति आपत्ति जनाएका हुन्।

उनले उक्त विधेयक “निकै महत्त्वपूर्ण” रहेको भन्दै यथासिघ्र कार्यसूचीमा राखेर अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

पाण्डेले विद्यालय शिक्षा विधेयक, नागरिकता विधेयक जस्ता अन्य महत्वपूर्ण विधेयकहरूसमेत समयमै पारित हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार, प्रमुख प्रतिपक्षी दलले पटक–पटक दबाब दिए पनि सरकारले विधेयक पारित गर्न गम्भीरता देखाएको छैन।

उनले भने, “महत्त्वपूर्ण विधेयकहरू संसद्मा रहेको अवस्थामा कार्यसूचीबाट हटाइनु आफैंमा गम्भीर विषय हो। सरकारले विधेयक पारितप्रति कुनै तत्परता देखाएको छैन।”

तपाईको प्रतिक्रिया