नारायणकाजीले प्रचण्डसँग मागे कार्यवाहक अध्यक्ष, प्रचण्डको जवाफ– विशेष महाधिवेशनले निर्णय गर्छ


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यवाहक अध्यक्षको जिम्मेवारी मागेका छन्।

उपमहासचिव हरिबोल गजुरेलका अनुसार, दुई दिनअघि बसेको पदाधिकारी बैठकमा श्रेष्ठले आफूलाई कार्यवाहक अध्यक्षको जिम्मा दिनुपर्ने प्रस्ताव राखेका थिए। तर, अध्यक्ष प्रचण्डले त्यसलाई अस्वीकार गरेका थिए।

“उहाँले आफूलाई कार्यवाहक अध्यक्ष दिन भन्नुभएको थियो, तर परिस्थिति त्यस्तो थिएन,” उपमहासचिव गजुरेलले सेतोपाटीसँग भने।

गजुरेलका अनुसार, जेन–जी आन्दोलन र पार्टीभित्र देखिएको असन्तोषको पृष्ठभूमिमा श्रेष्ठले यस्तो प्रस्ताव गरे पनि अध्यक्ष प्रचण्डले पार्टी विशेष महाधिवेशनतर्फ गइसकेको बताउँदै अस्वीकार गरेका हुन्।

प्रचण्डको भनाइ अनुसार, “हामी विशेष महाधिवेशन गर्दैछौं। दुई महिनाका लागि किन कार्यवाहक दिने? नेतृत्वबारे विशेष महाधिवेशनले नै निर्णय गर्नेछ।”

यसैबीच, माओवादी केन्द्रले असोज ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। सो बैठकमा प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। बैठकले उक्त प्रस्ताव अनुमोदन गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने मिति तय गर्ने अपेक्षा गरिएको छ।

पार्टी उपमहासचिव जनार्दन शर्माले पनि लामो समयदेखि विशेष महाधिवेशनमा जानुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।

तपाईको प्रतिक्रिया