नागरिकको घरदैलोमा सुझाव माग्न सञ्चारमन्त्री खरेल

ललितपुर। बिहीबार बंगलामुखी मन्दिरमा दर्शनार्थीको घुँइचो थियो। आज नेवार समुदायको ठूलो चाड योमरी पुन्ही परेकोले मन्दिर क्षेत्र रौनकपूर्ण देखिन्थ्यो। सार्वजनिक विदा पनि परेकोले स्थानीय नागरिक र भक्तजनको भिड थप बढेको थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आज बिहान ललितपुर महानगरपालिका–११ स्थित प्रतिष्ठित बंगलामुखी मन्दिरमा पूजा–दर्शनका लागि पुग्नुभयो।

मन्त्रीको आगमनले स्थानीय जनप्रतिनिधिहरूलाई समेत अचम्ममा पार्ने खालको थियो। स्थानीयहरूले मन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने मौका पाएपछि खुशी व्यक्त गर्नु भयो। सञ्चारमन्त्री खरेलले बिहीबार पाटन बंगलामुखी क्षेत्र पुगेर जनता, जनप्रतिनिधि एवं सरोकारवालासँग साक्षात्कार गर्नुभएको हो । 

दर्शनपछिउ उहाँले स्थानीय दिदीबहिनी तथा दाजुभाइसँग भेटघाट गर्दै उनीहरूको सुझाव, गुनासा र अपेक्षाहरू सम्मानपूर्वक सुन्नुभयो।

मन्त्री खरेलले सरकार सिंहदरबारमै सीमित हुनुभन्दा समुदायमै पुगेर वास्तविक समस्या बुझ्नु आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय सम्भव भएसम्म विभिन्न टोल–छिमेकमा पुगेर नागरिकका आवाज संकलन गर्ने अभ्यास जारी रहेको बताउनुभयो ।

उहाँका अनुसार देशभरका समुदायमा पुगेर नागरिकका माग र सुझावलाई आत्मसाथ गर्नु सरकारको जिम्मेवारी हो।

“जनताको साथ, सुझाव र विश्वासले अझ प्रभावकारी रूपमा काम गर्न प्रेरित भएको छ,” मन्त्री खरेलले भन्नुभयो।

तपाईको प्रतिक्रिया