दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा आज पाँच अध्यादेश निर्णयका लागि प्रस्तुत हुने

काठमाडौं। संघीय संसद् अन्तर्गत दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक आज बस्नेछ। प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यक्रम छ।

प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य र आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्तुत गर्ने सम्भावना रहेको छ।

राष्ट्रिय सभामा भने स्वास्थ्य र जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची रहेको छ।

यसैगरी, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको छ।

त्यसैगरी, बैठकमा ‘सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निर्णयका लागि प्रस्तुत गरिनेछ।

यस्तै, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक र व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश, २०८१’ निर्णयका लागि प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया