दुई जर्मन कम्पनीलाई इ–राहदानी आपूर्तिको ठेक्का


काठमाडौं ।राहदानी विभागले इ–राहदानी आपूर्तिका लागि जर्मनीका दुई कम्पनी मुएलबाउर र भेरिडोसलाई ठेक्का दिने निर्णय गरेको छ। सार्वजनिक टेन्डर प्रक्रियामा यी कम्पनीहरूले फ्रेन्च प्रतिस्पर्धी आइडिमियाभन्दा झन्डै १ करोड २० लाख अमेरिकी डलर सस्तो प्रस्ताव पेस गर्दै प्रतिस्पर्धा जितेका हुन्।

मुएलबाउरले डाटा इनरोलमेन्टका लागि १ करोड १० लाख डलरको प्रस्ताव प्रस्तुत गरेको छ भने भेरिडोसले इ–राहदानी आपूर्ति र वितरणको लागि ४ करोड ३९ लाख डलरभन्दा बढीको प्रस्तावसहित ठेक्का पाएको छ।

दुवै प्याकेजको संयुक्त लागत करिब ५५ मिलियन डलर छ, जुन आइडिमियाले प्रस्ताव गरेको करिब ७० मिलियन डलरभन्दा निकै कम हो। मूल्यमा ठूलो अन्तर देखिएपछि विभागले जर्मन कम्पनीहरूलाई ठेक्का दिने निर्णय गरेको हो।

तर, आइडिमियाले यो निर्णयविरुद्ध सार्वजनिक खरिद पुनरावलोकन समिति र सर्वोच्च अदालतमा चुनौती दिँदै मुद्दा दायर गरेको छ। विभागले सबै प्रक्रिया पारदर्शी र खुला प्रतिस्पर्धामार्फत भएको स्पष्ट पारेको छ।

यदि कानुनी निरूपण ढिलो भयो भने राहदानी वितरणमा समस्या आउन सक्ने विभागका अधिकारीहरू बताउँछन्। हाल राहदानीको मासिक खपत १ लाख २० हजारभन्दा बढी रहेको छ।

तपाईको प्रतिक्रिया