दिपक मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिने आदेश

राजिब गुरूङ, जसलाई ‘दिपक मनाङे’ भनेर चिनिन्छ, अब २० प्रतिशत सजाय छुट पाउने भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार दिपक मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका छन्।

मनाङेले मुलुकी ऐन, दण्ड सजायको धारा ४१ (क) अनुसार २० प्रतिशत छुटको लागि निवेदन दिएका थिए।

उनले फागुन १२ गते दिएको निवेदनअनुसार जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले २० प्रतिशत छुटको आदेशको जानकारी दिएका छन्।

मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) अनुसार अदालतको अन्तिम निर्णय भएको ६० दिन भित्र आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ।

‘अदालतको निर्णय भएको ६० दिन भित्र उपस्थित भएकाले मनाङेले कारागार मार्फत निवेदन दिएका थिए,’ श्रेष्ठले भने, ‘त्यही निवेदनअनुसार उनलाई बाँकी सजायको २० प्रतिशत छुट दिइएको हो।’

दिपक मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगको दोषी ठहर गरेको थियो।

२० वर्षपछि मिलन गुरूङ ‘चक्रे मिलन’ को हात काट्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेले ५ वर्षको कैद सजाय पाएका थिए।

यसअघि नै उनी २ वर्ष ८ महिना जेलमा बसेका थिए।

अब उनलाई दुई वर्ष चार महिना जेल बस्नुपर्ने थियो र यसमा पनि २० प्रतिशत छुट पाउने भएका छन्।

तपाईको प्रतिक्रिया