त्रिवि सभाबाट ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित, नयाँ बजेट र रणनीति सार्वजनिक

काठमाडौं — त्रिभुवन विश्वविद्यालयको ६३औँ वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा अध्ययनरत ८९ हजार १९१ विद्यार्थीको ग्रेसलिष्ट (उत्तीर्ण विवरण) पारित गरेको छ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सभाले रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पेश गरेको ग्रेसलिष्टलाई अनुमोदन गरेको हो।

बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि त्रिवुको बजेट र भावी कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयलाई २१औँ शताब्दीको माग र प्रतिस्पर्धालाई सम्बोधन गर्नसक्ने आधुनिक र सक्षम विश्वविद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति रघुजी पन्तले राष्ट्रिय विकासको लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ हासिल गर्न विश्वविद्यालयहरूको भूमिका निर्णायक हुने भन्दै शिक्षा क्षेत्रले समयानुकूल भूमिका निर्वाह गर्नुपर्ने बताए।

नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले त्रिविमा विदेशी विद्यार्थीको सहभागिता कम्तीमा एक प्रतिशत पुर्याउने लक्ष्यसहित आगामी दिनमा विश्वविद्यालयको अन्तर्राष्ट्रियकरणतर्फ केन्द्रित हुने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया