त्रिभुवन विमानस्थलबाट गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा करिब चार किलो २८४ ग्रामसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन्। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले बैंककबाट काठमाडौं आएका रञ्जितको लगेज जाँच गर्ने क्रममा लागूऔषध फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, सोही लागूऔषध सङ्कलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मा पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ परेका छन्। उनीहरूलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।

यस्तै, कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको नागार्जुन नगरपालिका–२ ठूलो भर्याङस्थित कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब दुई लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटना पनि प्रहरीले सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया