तिहारमा माटोले घर लिपौं : खानीखोला गाउँपालिकाको सांस्कृतिक संरक्षण अभियान

काभ्रेपलाञ्चोक । आधुनिक रङरोगनको बढ्दो प्रयोगले हराउँदै गएको मौलिकता जोगाउन काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले यस तिहारमा परम्परागत रूपमा माटोले घर लिपपोत गर्न स्थानीयवासीलाई आग्रह गरेको छ।

गाउँपालिकाले सार्वजनिक अपिल जारी गर्दै तिहारका अवसरमा घर तथा आँगनमा कमेरो (सेतो माटो) र रातो माटो प्रयोग गरी लिपपोत गर्न सर्वसाधारण, टोल विकास समिति र विद्यार्थीहरूसमेतलाई सहभागी हुन आह्वान गरेको हो।

“माटोले लिप्ने चलन केवल परम्परा होइन, संस्कृतिको पहिचान हो”

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार परम्परागत संस्कृति पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाबाटै यो अभियानको निर्णय गरिएको हो।

“दीपावलीमा घर आँगन माटोले लिप्ने चलन धार्मिक आस्था र सौन्दर्यसँग मात्र सम्बन्धित छैन, यो सामाजिक एकता र सांस्कृतिक संरक्षणको अभिन्न हिस्सा हो,” अध्यक्ष थिङले बताए।

उनले पुर्खाबाट प्राप्त परम्परालाई संरक्षण गर्न अभियानकै रूपमा अघि बढाउन लागिएको उल्लेख गर्दै, माटोले लिपेका घरहरूले गाउँलाई शृङ्गारिक बनाउने र पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।

अभियानमा सामूहिक सहभागिता आह्वान

गाउँपालिकाले अभियान सफल बनाउन सबै नागरिक, विद्यालय, युवा समूह, टोल समिति र सामाजिक संस्थालाई सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

स्थानीय रूपमा पाइने सेतो र रातो माटो प्रयोग गरेर घर लिपपोत गर्ने यो प्रयासले हराउँदै गएको मौलिक संस्कृति जोगाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया