डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ, ६ चिनियाँ नागरिकसहित

काठमाडौं, गैरकानुनी रूपमा डेटिङ एप र क्रिप्टो कारोबार सञ्चालन गरेको आरोपमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुर र काठमाडौंमा गरेको छापामारीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ललितपुर महानगरपालिका–४, दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ नाममा दर्ता गरि कल सेन्टरको आवरणमा मेटो डेटिङ एप सञ्चालन गरिँदै आएको प्रहरीले जनाएको छ। सोही कम्पनीको शाखा काठमाडौं महानगरपालिका–१३, चागलमा रहेको अर्को घरमा सञ्चालन हुँदै आएको थियो। त्यहीँबाट नेपाली युवतीलाई प्रयोग गरी अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबारसम्बन्धी गतिविधि गरिँदै आएको खुलासा भएको हो।

पक्राउ परेकाहरूको साथबाट स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ १३ लाख ९९ हजार ९५० नगद, सात थान ल्यापटप र ५४ थान मोबाइलसमेत बरामद गरिएको छ।

छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरिएको छ भने अन्य ४६ जनामाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार यस्तो गतिविधि साइबर अपराध, अवैध वित्तीय कारोबार र सामाजिक सुरक्षासम्बन्धी संवेदनशील विषयमा पर्ने भएकाले यसलाई गम्भीरतापूर्वक लिइएको छ।

तपाईको प्रतिक्रिया