डिजिटल माध्यमबाट हुने हिंसा रोकथामका लागि सबैको साझा पहल आवश्यक: सञ्चारमन्त्री खरेल

काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यममार्फत हुने विभिन्न प्रकारका हिंसा न्यूनीकरणका लागि सबै सरोकारवाला गम्भीरतापूर्वक पहल हुन आवश्यक रहेको बताउनुभएको छ।
सञ्चारिका समूह नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन महिला पत्रकारहरूमा दोहोरो जिम्मेवारी रहने उल्लेख गर्नुभयो।

मन्त्री खरेलले भन्नुभयो, “महिला पत्रकार मित्रहरूलाई म विनम्र अनुरोध गर्न चाहन्छु—पहिलो, आफू सुरक्षित रहने; दोस्रो, आफ्नो कार्यक्षेत्रलाई सुरक्षित राख्ने दायित्व तपाईंहरूको काँधमा छ। त्यसैले हाम्रो सामग्री, कथा तथा अभिव्यक्ति कम्तिमा डिजिटल हिंसा रहित बन्न आवश्यक छ।”

उहाँले लैंगिक हिंसाका रूप र प्रवृत्तिमा आएको परिवर्तनले डिजिटल माध्यममा सुरक्षा र संवेदनशीलता अझ आवश्यक भएको बताउनुभयो। उहाँको भनाइमा, “परिवारसँग हुनु भयो भने सुरक्षित महसुस होला, तर सामाजिक सञ्जालमा आउने केही सामग्रीले असहज वा असुरक्षित भावना उत्पन्न गराउन सक्छ। त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाबारे खुला बहस सुरु गर्नु आजको आवश्यकता हो। प्रविधिले सहजतासँगै जोखिम पनि ल्याएको छ, त्यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ।”

मन्त्री खरेलले देश तथा समाज क्रमशः समता र समानताको दिशामा अघि बढिरहेको तथा महिलाहरू राजनीति, निजामती सेवा, पत्रकारिता लगायतका क्षेत्रहरूमा सशक्त रूपमा स्थापित हुँदै जानु सकारात्मक परिवर्तन भएको बताउनुभयो।

उहाँले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको प्रसङ्ग जोड्दै, “संयोगले दुईजना सम्माननीय व्यक्तित्वसँग भेटघाटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले महिलाहरूले आफ्नो करियर र यात्रामा पुरुषको तुलनामा धेरै गुना परिश्रम गर्नुपरेको अनुभूति साझा गर्नुभयो। यसले नेपाली महिलाहरूले गरेको लगन, संघर्ष र योगदानको प्रतीक प्रकट गर्छ,” भन्नुभयो।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले सरकारले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने, जेनजी आन्दोलनले उठाएका मूल्य–मान्यताअनुसार सुशासन स्थापना गर्ने र भ्रष्टाचार नियन्त्रणमा तीब्र रूपमा काम गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार, सरकारले भ्रष्टाचार तथा अनियमिततासम्बन्धी २५ भन्दा बढी महत्त्वपूर्ण फाइल अगाडि बढाइसकेको छ।

यसै कार्यक्रमका क्रममा, सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा तीव्र रूपमा बढ्दो अवस्थामा रहेको बताउँदै यसको न्यूनीकरणका लागि सबै संस्था र व्यक्तिको संयुक्त प्रयास अत्यावश्यक भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, लैंगिक हिंसा मानव अधिकारको ठूलो बाधक बनेको छ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थी, क्रियाशील पत्रकार महिला (डब्ल्युडब्ल्युजे) की अध्यक्ष रामकला खड्का र प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्ले लगायत वक्ताहरूले कार्यस्थलमा हिंसा अझै कायम रहेको र डिजिटल हिंसाको दायरा पनि विस्तार हुँदै गएको जानकारी साझा गर्नुभयो।।

तपाईको प्रतिक्रिया