ठगी आरोपमा प्रहरीनै पक्राउ

काठमाडौंको रानीवारीमा धम्कीद्वारा दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना प्रहरी र एकजना सामान्य व्यक्ति प्रहरीको निगरानीमा रहेका छन्।

तीमध्ये नेपाल प्रहरीका सहायक हवल्दार धिरेन्द्र विष्टलाई नियन्त्रणमा लिइएको छ भने अर्का प्रहरी जवान सुजन कार्की प्रहरीको निगरानीमा छन्। कार्की हाल घर विदामा रहेकाले पक्राउमा समावेश हुन सकेका छैनन्। त्यस्तै, फरार रहेको अर्को व्यक्तिको खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार, गत पुस २५ गते रानीवारीमा एक व्यक्तिलाई धम्की दिँदै रकम ठगी गरिएको थियो। आरोपितहरूले ती व्यक्तिसँग लागुऔषध भएको भन्दै रकम नदिएमा मुद्दा दर्ता गरी पक्राउ गरिने धम्की दिएका थिए।

पक्राउ परेका विष्टविरुद्ध अनुसन्धानका लागि म्याद थप गरिएको छ। विष्ट र कार्की दुवै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कर्मचारी हुन्। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया