ट्रम्पको भन्सार नीतिबाट जोगिन भारतको प्रयास

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित विभिन्न मुलुकहरूमाथि उच्च भन्सार दर लगाउने चेतावनी दिएपछि भारतले अमेरिका सँगको व्यापार सम्झौता टुंग्याउन वार्ता प्रक्रिया तीव्र बनाएको छ। भारतले सम्झौता गर्ने भए पनि आफू दबाबमा आएको वा झुकेको सन्देश नजाओस् भन्ने रणनीतिमा ध्यान केन्द्रित गरिरहेको छ।

अप्रिल २ मा राष्ट्रपति ट्रम्पले ‘स्वतन्त्रता दिवस’ भन्दै सबै प्रमुख व्यापार साझेदारमाथि १० प्रतिशत र भारतसहितका केही मुलुकहरूलाई अझ उच्च, अर्थात् २६ प्रतिशत ‘रेसिप्रोकल’ (पारस्परिक) भन्सार दर लगाउने घोषणा गरेका थिए। तर, यस्तो निर्णयले अमेरिका स्वयम्को अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने देखिएपछि उनले एक साताभित्रै ७० भन्दा बढी देशका लागि उक्त निर्णय ९० दिनका लागि स्थगन गरेका थिए। चीनबाहेक सबैमाथि १० प्रतिशत भन्सार कायम गरिएको थियो।

हाल उक्त ९० दिनको समयसीमा आगामी जुलाई ९ मा सकिँदैछ। यदि त्यसअगाडि द्विपक्षीय व्यापार सम्झौता नभएमा भारतमाथि फेरि २६ प्रतिशत भन्सार दर लाग्न सक्ने सम्भावना छ। त्यसैले भारतले अमेरिका सँग चलिरहेको वार्तालाई प्राथमिकता दिएको हो। भारतीय व्यापार प्रतिनिधिमण्डल हाल अमेरिकामै रही निरन्तर वार्ता गरिरहेको छ।

भारतले विशेष गरी कृषि तथा दुग्धजन्य उत्पादनका विषयहरूमा सम्झौता नगरी सहमति गर्ने प्रयास गरिरहेको छ। आनुवंशिक रूपमा परिमार्जित अमेरिकी अन्नबाली (मकै, गहुँ, चामल, भटमास) भारतमा प्रवेश पाओस् भन्ने अमेरिकी प्रस्तावप्रति भारत सकारात्मक छैन। भारतमा कृषकहरू राजनीतिक रूपमा प्रभावशाली रहेका कारण यो विषयमा संवेदनशीलता देखाइएको हो।

त्यस्तै, अमेरिकामा गाईको खुवाइमा मासुजन्य पदार्थ प्रयोग हुने भएकाले त्यस्ता गाईबाट प्राप्त दुग्धजन्य उत्पादनलाई आयात गर्न भारत तयार छैन।

अमेरिकाले भारतसँगको व्यापार घाटा घटाउने उद्देश्य राखेपछि भारतले आफूले प्राकृतिक ग्यास, ड्राइ फ्रुट, मोटर पार्ट्स लगायतका वस्तु आयात गर्ने प्रस्ताव अघि सारेको छ। यसले भारतले व्यावसायिक सन्तुलन कायम गर्दै उच्च भन्सार दरबाट जोगिन खोजेको देखिन्छ।

यसअघि चीनले ट्रम्पको भन्सार दबाबलाई जवाफी भन्सारमार्फत प्रतिकार गरेको थियो। त्यसको परिणामस्वरूप दुवै देशबीच भन्सार दर चरम स्तरमा पुगेको थियो, जुन अन्ततः वार्तामार्फत केही समयका लागि घटाइएको थियो।

चीनजस्तै आक्रामक नबनी भारतले समन्वयात्मक ढंगले सहमति खोजिरहेको यो प्रयास, आत्मसम्मान जोगाउँदै द्विपक्षीय सम्बन्ध सुदृढ पार्न केन्द्रित देखिन्छ।

तपाईको प्रतिक्रिया