टीकाथलीमा बोरिङ गर्दा आगो निस्कियो, साढे दुई घन्टापछि निभाइयो

ललितपुरको टीकाथलीमा खानेपानीका लागि बोरिङ खन्दै गर्दा आगो निस्किएको छ।

मंगलबार बिहान ललितपुरको टीकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिकै डिप बोरिङ गर्दा आगो निस्किएको हो।

बिहान ९ः३० बजेको समयमा निस्किएको आगो झन्डै साढे दुई घन्टापछि नियन्त्रणमा लिएको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले जानकारी दिए।

उनका अनुसार, २५ दिनदेखि त्यहाँ बोरिङको काम भइरहेको थियो। करिब ३०० मिटर (९ सय फिट) खनेपछि आगोको ज्वाला निस्किएको हो।

वडाध्यक्ष केसीले भने, “सुरूमा हामीले सामान्य ग्यास हो भन्ठान्यौं, तर आगो निभाउन निकै कठिन भयो। धेरै समय पानी हाल्दा पनि आगो नबुझेर अन्ततः ग्यासको तत्व ल्याएर आगो नियन्त्रणमा लियौं।”

त्यहाँ ६०–७० लाख लागतमा खानेपानी आयोजना निर्माण भइरहेको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर ५ शान्ति टोल र आसपासका करिब दुई हजार घरधुरीका लागि पानीको आपूर्ति सुनिश्चित गर्न बोरिङ गरिएको हो।

तपाईको प्रतिक्रिया