टी–२० विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोलीको कन्डिसनल क्याम्प आजदेखि सुरु

फोटो स्रोत:नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौं — आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मङ्गलबारदेखि कन्डिसनल क्याम्प सुरु गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मुख्य प्रशिक्षक स्टुवर्ड लले पहिलो चरणको बन्द प्रशिक्षणका लागि २४ जना खेलाडीलाई समावेश गरेका छन्। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार यो कन्डिसनल क्याम्प मङ्गलबारदेखि औपचारिक रूपमा सुरु भएको हो।

आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ। यस समूहमा नेपालसँगै बंगलादेश, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिज रहेका छन्। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र समूह चरणको अन्तिम खेल फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

प्रवक्ता लामाका अनुसार कन्डिसनल क्याम्पमा खेलाडीको शारीरिक फिटनेस, खेल कौशल तथा समग्र क्षमताको मूल्यांकन गरिनेछ। उक्त मूल्यांकनपछि मात्र विश्वकपका लागि हुने मुख्य बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी छनोट गरिने जनाइएको छ।

“यो क्याम्प करिब सातदेखि आठ दिनसम्म सञ्चालन हुनेछ। सबै मूल्यांकनपछि योग्य खेलाडी मात्रै विश्वकप केन्द्रित बन्द प्रशिक्षणमा समावेश हुनेछन्। बन्द प्रशिक्षणको स्थान र व्यवस्थापनबारे क्यानले आवश्यक योजना बनाइरहेको छ,” प्रवक्ता लामाले जानकारी दिए।

तपाईको प्रतिक्रिया