ज्ञानेन्द्र शाहीको प्रश्न: प्रधानमन्त्रीले काठमाडौंका मेयरसँग सिङ जुधाउनुपर्ने कारण के हो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहसँग सिङ जुधाउने जस्तो स्थिति सिर्जना गरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकामा डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नियुक्त नगरेको बारेमा प्रश्न उठाए। उनले भने, “डेढ महिनादेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। अधिकृत नहुँदा १८०० शिक्षकलाई चार महिनादेखि तलब प्राप्त भएको छैन। त्यस्तै, दुई हजार भन्दा बढी वडाका आयोजना र कर्मचारीलाई दुई महिनादेखि तलब नदिइएको छ। तलब नपाउँदा कर्मचारीहरूको जीवनयापनमा कठिनाइ भएको छ।”

शाहीले प्रधानमन्त्रीको कार्यशैलीमा आलोचना गर्दै भने, “प्रधानमन्त्रीले मेयरसँग सिउँठेजोरी खेल्नुपर्ने, सिङ जुधाउने परिस्थिति सिर्जना गर्नुको कारण के हो? यसबारे संसदमा जवाफ दिनु पर्छ।”

उनले प्रधानमन्त्रीलाई जनप्रतिनिधि कर्मचारीहरू र राजधानीप्रति धोका दिएको आरोप पनि लगाएका छन्। “मेयरलाई धोका दिएको होइन, राजधानीलाई धोका दिनुभएको छ। महानगरपालिकामा असहयोग गर्नु भनेको यहाँका नागरिकलाई धोका दिनु हो। राजधानीलाई ठप्प बनाउनुको कारण के हो?” उनले भने।

शाहीले प्रधानमन्त्रीलाई नयाँ जोस र जाँगरका साथ आएका जनप्रतिनिधिलाई असफल बनाउने काममा लागेको आरोप लगाउँदै कडा शब्दमा भर्त्सना पनि गरेका छन्।

तपाईको प्रतिक्रिया