जेलेन्स्कीले स्पष्ट भने: शान्तिका नाममा रुसलाई युक्रेनी भूमि दिन्ने छैनौं

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको नाममा पनि रुसलाई युक्रेनी भूमि हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेका छन्। युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाको अलास्कामा हुन लागेको पुटिन–ट्रम्प शिखर वार्ताप्रति प्रतिक्रिया दिँदै उनले युक्रेन विना कुनै निर्णय स्वीकृत नहुने चेतावनी दिएका हुन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी साउन २९ गते (अगस्ट १५) अमेरिकी राज्य अलास्कामा शिखर वार्ता हुने पक्का भएपछि जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत कडा सन्देश दिएका हुन्।

“युक्रेनीहरूले आफ्नो भूमि कब्जाकर्तालाई दिने छैनन्,” जेलेन्स्कीले लेखेका छन्, “हामीविना भएको कुनै पनि निर्णय शान्तिविरुद्धको निर्णय हो। युक्रेनबिनाको वार्ता अमान्य हुनेछ।”

ट्रम्पले उक्त वार्ता युक्रेन र रुस दुबैको “भलाइका लागि केही क्षेत्र साटासाट गरिने” भन्दै संकेत दिए पनि विस्तृत विवरण दिएका छैनन्। तर, जेलेन्स्कीले यस्ता प्रस्तावलाई खारेज गर्दै युद्ध अन्त्य गर्न युक्रेनलाई प्रत्यक्ष सहभागी गराइनु अनिवार्य भएको बताएका छन्।

कूटनीतिक तयारी र समर्थनको प्रयास

जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँग टेलिफोन वार्ता गर्दै युक्रेनका सहयोगीहरूले शान्ति स्थापनाका लागि “स्पष्ट र प्रभावकारी कदम” चाल्नुपर्ने आग्रह गरेका छन्। पुटिन–ट्रम्प वार्ता अघि बेलायतमा अमेरिकी, युरोपेली संघ (ईयू) र बेलायतका सुरक्षा सल्लाहकारहरूबीच छलफल भएको छ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा व्यापक आक्रमण सुरु गरेयता युद्ध समाधानका तीन चरणका वार्ता प्रयास विफल भएका छन्। दुबै पक्ष आफ्ना अडानमा कायम छन्, जसका कारण अबको शिखर सम्मेलनले ठोस नतिजा दिन सक्नेमा धेरै विश्लेषक शंकालु छन्।

जेलेन्स्कीले भने युक्रेन शान्ति स्थापनाका लागि “यथार्थपरक निर्णय” गर्न तयार रहेको बताए। तर, पुटिनले अहिलेको अवस्थामा जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गरिसकेका छन्। युक्रेनी पक्षले भने त्रिपक्षीय वार्तालाई शान्तिपूर्ण समाधानतर्फको एक मात्र मार्गका रूपमा लिएको छ।

तपाईको प्रतिक्रिया