जेनजी आन्दोलनका माग ५ महिनाभित्र सम्बोधन गरिने:सञ्चारमन्त्री खरेल

काठमाडौं,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनमार्फत उठाइएका मागहरू आगामी पाँच महिनाभित्र सम्बोधन गरिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

काठमाडौंमा बिहीबार आयोजित सार्वजनिक कार्यक्रममा मन्तव्य दिँदै मन्त्री खरेलले भ्रष्टाचारविरुद्धको जनआन्दोलनले प्रस्तुत गरेका म्यान्डेटहरूलाई सरकार गम्भीरतापूर्वक कार्यान्वयन गर्न तत्पर रहेको जानकारी दिनुभयो।

“अब सञ्चार मन्त्रालयमा मेरो कार्यकालको पाँच महिना मात्र बाँकी छ,” मन्त्री खरेलले भन्नुभयो, “यस अवधिमा कति गर्न सकिन्छ भन्ने कुरा समयसँगै स्पष्ट हुनेछ। तर नियतबस कुनै गलत कार्य गरिने छैन।”

उहाँले स्पष्ट पार्नुभयो कि जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न सुशीला कार्की नेतृत्वको नागरिक सरकारबाट प्राप्त म्यान्डेटअनुसार सरकारले सबै तहमा पहल गरिरहेको छ।

मन्त्री खरेलले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनालाई सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै यस अभियानमा सबै युवाको सक्रिय सहभागीता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया