जेन–जी आन्दोलनका क्षति मूल्याङ्कन गर्न प्रधानमन्त्री कार्कीको कडा निर्देशन

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रमहरूको पहिलो त्रैमासिक समीक्षाको क्रममा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो।

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति र संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रतिवेदन तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

उहाँले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म खर्चको प्रगति सन्तोषजनक नदेखिएको उल्लेख गर्दै बाँकी अवधिमा सबै निकायका प्रमुखहरूलाई आफ्ना जिम्मेवारीका कामलाई उच्च प्राथमिकता दिएर तोकिएको समयभित्र पूरा गर्न आग्रह गर्नुभयो।

प्रधानमन्त्रीका अनुसार आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा भएको क्षतिका कारण कतिपय कार्य प्रभावित भएका छन्। उहाँले जेन–जी आन्दोलनको मर्म र भावना अनुरूप जनमुखी तथा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई आह्वान गर्नुभयो।

त्यस क्रममा उहाँले चालु आर्थिक वर्षमा तय भएका लक्ष्यहरू समयमै हासिल गर्नेगरी योजनाहरू कार्यान्वयन गर्न निर्देशनसमेत दिनुभयो।

तपाईको प्रतिक्रिया