जापानको तल्लो सदनमा ताकाइची नेतृत्वको एलडिपीलाई एकल दुई तिहाई बहुमत

काठमाडौं । जापानमा आइतबार सम्पन्न तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ऐतिहासिक सफलता हासिल गरेको छ। निर्वाचन परिणामअनुसार एलडिपीले एक्लै दुई तिहाईभन्दा बढी सिट जित्दै बलियो उपस्थिति जनाएको छ।

अघिल्लो निर्वाचनमा १९८ सिटमा सीमित रहेको एलडिपीले यसपटक ४६५ सदस्यीय तल्लो सदनमा ३१६ सिट हात पारेको हो। तल्लो सदनमा दुई तिहाई बहुमतका लागि ३१० सिट आवश्यक पर्ने भए पनि एलडिपीले त्यो सीमा एक्लैले पार गरेको छ।

एलडिपीसँग गठबन्धनमा रहेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ। यससँगै सत्तारुढ गठबन्धनको कुल सिट संख्या ३५२ पुगेको छ।

यो परिणाम सन् १९५५ मा एलडिपी स्थापना भएयताकै सबैभन्दा ठूलो जित मानिएको छ। यसअघि सन् १९८६ मा तत्कालीन प्रधानमन्त्री यासुहिरो नाकासोनेको नेतृत्वमा पार्टीले जितेको ३०० सिटको रेकर्डलाई यस निर्वाचनले उछिनेको हो।

विपक्षी दल सेन्टर रिफर्म कोलिसन भने यसपटक ठूलो घाटामा परेको छ। उसले ४९ सिटमा मात्र चित्त बुझाउनुपरेको छ, जबकि अघिल्लो निर्वाचनमा सो दलसँग १७२ सिट थियो।

एलडिपी गठबन्धनबाहिरका अन्य दलहरूले संयुक्त रूपमा ११३ सिट जितेका छन्।

प्रधानमन्त्री ताकाइचीले जनवरी २३ मा संसदको तल्लो सदन विघटन गर्दै १६ दिनभित्र निर्वाचन गराउने निर्णय गरेकी थिइन्। निर्वाचनमा उनले संविधान संशोधन, सैन्य क्षमता सुदृढीकरण, तथा खाद्यान्नमा लाग्दै आएको ८ प्रतिशत उपभोग कर हटाउने विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेकी थिइन्।

तपाईको प्रतिक्रिया