जसपा नेपालले राजमार्ग केन्द्रित अभियान चलाउने, पदाधिकारी संख्या बढाउने

काठमाडौं : माओवादी केन्द्रले जनतासँग माओवादीः तराई मधेश जागरण अभियान सञ्चालन गरिरहेको अवस्थामा जसपा नेपालले पनि देशका प्रमुख तीन वटा राजमार्गमा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’लाई वैशाख महिनासम्म सञ्चालन गर्ने निर्णय पार्टीले गरेको छ। उक्त अभियानको समयसीमा सकिएपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्गमा केन्द्रित अभियान सुरु गर्ने योजना जसपा नेपालका प्रवक्ता मनीष सुमनले जानकारी दिएका छन्।

अभियानको समय तालिका भने अझै तय हुन बाँकी रहेको उनले बताए। जसपा नेपालले आधारभूत संगठन निर्माण अभियान सकिएपछि जनजागरण अभियानमा लाग्ने बताएको छ।

यसअघि नेकपा एमालेले पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी राजमार्गमा अभियान सम्पन्न गरिसकेको छ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सम्पन्न गरिसकेका छन्।

तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकबाट जसपा नेपालले पदाधिकारी र कार्यकारिणी समितिको संख्या बढाउने निर्णय गरेको छ। बैठकले १४ जना कार्यकारिणी सदस्य, दुई उपाध्यक्ष र एक महासचिव थप्ने निर्णय गरेको हो।

हाल जसपा नेपालको कार्यकारिणी समितिमा ३१ सदस्य छन्। त्यसमा ११ जना र थप गरिएका तीन पदाधिकारीसहित १४ जनालाई थपेर ४५ सदस्यीय कार्यकारिणी समिति बनाउने निर्णय जसपाले गरेको हो।

यो निर्णय जसपा नेपालको विधान २०८० को धारा १३९ प्रयोग गरेर ल्याइएको प्रवक्ता सुमनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया