छानबिनको विश्वासिलो वातावरण बने संसद् खुल्ने सम्भावना : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोध हटाउन गृहमन्त्रीको राजीनामा अनिवार्य शर्त नभएको संकेत दिएका छन्।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन प्रक्रिया विश्वासिलो बने संसद् सञ्चालन सम्भव हुने धारणा राखे।

‘हामी प्रतिपक्षी दलहरू छलफलमा बस्यौँ,’ प्रचण्डले भने, ‘छानबिन महत्त्वपूर्ण विषय हो। छानबिन विश्वासिलो ढंगले हुने वातावरण बनेमा संसद् सञ्चालनको बाटो खुल्न सक्छ।’

उनका अनुसार विपक्षी दलहरूमध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यस विषयमा थप छलफल आवश्यक देखिएको छ।

यसअघि सत्तारुढ कांग्रेसका नेताहरू—उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्याम घिमिरेलगायतले प्रतिपक्षी नेताहरूसँग संवाद गरेका थिए। उक्त छलफलपछि शुक्रबारको संसद् बैठक सूचना टाँसेर स्थगित गर्ने सहमति भएको थियो।

प्रचण्डले समस्या एक–दुई दिनमै सकारात्मक ढंगले समाधान हुने विश्वाससमेत व्यक्त गरे। उनले सत्ता पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन चलिरहेको अवस्थामा अर्को छानबिन समिति आवश्यक नपर्ने धारणा राखेको जनाए पनि, समग्रमा छानबिन गर्ने विषयमा सहमति बन्ने सम्भावना रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया